गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्। स्रोतका अनुसार शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता, संस्कृति र राष्ट्रिय पहिचान झल्किने पोसाकलाई प्राथमिकता दिनुपर्ने भन्दै उक्त निर्देशन दिएका हुन्।
उनले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सबैभन्दा पहिले विमानस्थल र त्यहाँ कार्यरत अध्यागमन कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्ने भएकाले कर्मचारीको पोसाक, व्यवहार तथा सेवा प्रवाहले देशको अन्तर्राष्ट्रिय छवि निर्माणमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए।
गृहमन्त्री गुरुङले सेवाग्राहीमैत्री, अनुशासित र मर्यादित सेवा प्रवाहसँगै नेपाली संस्कृति तथा राष्ट्रिय पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यालय समयमा ढाका टोपीको प्रयोग अनिवार्य गर्न निर्देशन दिएको जनाइएको छ।
यसअघि सरकारले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ लागू गरेको थियो। निर्देशिकाको दफा ५(१) मा सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट उत्पादित पोसाक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै, दफा ५(२) अनुसार सार्वजनिक निकायका पदाधिकारीले उपहार प्रदान गर्दा पनि स्वदेशी उत्पादनकै प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।
गृहमन्त्रीको पछिल्लो निर्देशनलाई सोही सरकारी नीतिको कार्यान्वयनसँग जोडेर हेरिएको छ।



















