दीपक भट्टलाई नख्खु, प्रदीप अधिकारीलाई सुन्धारा कारागार सारियो

व्यवसायी दीपक भट्ट र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको कारागार सरुवा गरिएको छ । उनीहरू दुवै जना डिल्लीबजार कारागारमा थिए । कारागार प्रशासन स्रोतका अनुसार दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको छ । अधिकारीलाई भने केन्द्रीय कारागार सुन्धारा सरुवा गरिएको छ ।

विभागबाट पत्र आएपछि शुक्रबार उनीहरुको कारागार सरुवा गरिएको हो । ‘माथिबाट सरुवाको पत्रआएपछि सरुवा भएको हो । के, किन भन्ने हामीलाई जानकारी भएन’ कारागार प्रशासन स्रोतले भन्यो ।

अन्य कारागार भन्दा खुल्ला ठाउँहरु भएका डिल्लीबजार कारागारमा प्रायजसो भीआईपी कैदीबन्दीहरुको रोजाई पर्दै आएको छ । अहिले पनि भीआईजी कैदीबन्दीले यो कारागार भरिभराउ छ ।

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजदेखि, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद इच्छाराज तामाङ यही कारागारमा छन् । सुनिल पौडेल, विकल पौडेलदेखि नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम पनि डिल्लीबजार कारागारमै छन् ।