अपाङ्गता भएका आदिवासी जनजाति महिलाको आवाज अधिकारमुखी बनाउन आग्रह

अपाङ्गता भएका आदिवासी जनजाति महिला तथा बालिकाका सवाललाई मूलधारका सञ्चार माध्यममा प्रभावकारी रूपमा समावेश गर्दै उनीहरूको आवाजलाई मूलप्रवाहीकरण गर्न सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय आदिवासी जनजाति अपाङ महिला संघ–नेपाल (निडवान) र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सहभागीहरूले समावेशी सञ्चार अभ्यासलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

निडवानकी अध्यक्ष डा. प्रतिमा गुरुङले लैङ्गिकता, अपाङ्गता र आदिवासी जनजातिका मुद्दालाई अधिकारमुखी तथा समावेशी दृष्टिकोणबाट प्रस्तुत गर्नुपर्ने बताइन्। उनले समाचारमा प्रयोग हुने भाषा, शब्दावली र तस्बिरसमेत सम्मानजनक तथा अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिइन्।

डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले सञ्चार संस्थाहरूले जनशक्ति र नेतृत्व तहमा सबै वर्ग तथा समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताउँदै सीमान्तकृत समुदायका मुद्दालाई समाचारको प्राथमिकतामा राख्न आग्रह गरिन्। उनले प्रत्येक सञ्चार संस्थाले समावेशी सञ्चार निर्देशिका बनाई कार्यान्वयन गर्नुपर्ने धारणा पनि राखिन्।

निडवानका प्राविधिक सल्लाहकार कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिको समाचारमा उनीहरूकै अनुभव र आवाजलाई प्राथमिकता दिनुपर्ने तथा अपाङ्गता भएका आदिवासी जनजाति महिलालाई पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए।

कार्यक्रममा सहभागी पत्रकारहरूले समावेशी भाषा प्रयोग भए पनि सम्पादनका क्रममा समाचारको मूल मर्म कमजोर हुने गरेको अनुभव सुनाउँदै सम्पादकहरूका लागि समेत समावेशी सञ्चारसम्बन्धी अभिमुखीकरण आवश्यक आवश्यक रहेको बताए।

निडवानले लामो समयदेखि अपाङ्गता भएका आदिवासी जनजाति महिला, लैङ्गिक समानता तथा अन्य सीमान्तकृत समुदायका मुद्दालाई राज्य र मूलधारका सञ्चार माध्यमसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले पत्रकारसँग नियमित संवाद, छलफल, ज्ञान उत्पादन तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

निडवानकी महासचिव श्रुती कुमालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सञ्चार संस्थाका पत्रकारहरूको सहभागिता रहेको थियो।