राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।

सभामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफलका लागि प्रस्ताव गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले राष्ट्रिय आवश्यकता र समयको चापलाई ध्यान दिएर प्राप्त सुझावहरूलाई मनन् गर्ने विश्वास दिलाए । यसअघि विधेयकमाथि सदस्य खम्बबहादुर खातीले छलफलमा भाग लिएको थियो ।

विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारणसहित ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’,‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि समितिको प्रतिवेदन आजैको पहिलो बैठकमा पेस गरेको थियो ।