रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएर बजेट फ्रिज गराएको आरोप लगाउँदै स्थानीय बासिन्दाले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको पुतला दहन गरेका छन् । उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलविरुद्ध पनि नाराबाजी गरेका छन् ।
सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे लामो समयसम्म जिम्मेवारी सम्हाल्न नआएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो । तर हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले नगरपालिकाको दैनिक प्रशासनिक तथा विकासका काम प्रभावित भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण बजेट कार्यान्वयन, शिक्षकको तलब भुक्तानी, बहुक्षेत्रीय पोषण कार्यक्रम, सरसफाइ सेवा तथा विद्युत्–पानीको भुक्तानी प्रभावित भएको स्थानीयको भनाइ छ । यसअघि नगर शिक्षकहरूले छ महिनादेखि तलब नपाएको भन्दै पेनडाउन आन्दोलन गरेका थिए । लाभग्राही र सरसफाइ कर्मचारीसमेत विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
यता, मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राखेर संघीय सरकारले योजनाबद्ध रूपमा नगरपालिकाको बजेट फ्रिज गराउने प्रयास गरेको आरोप लगाएकी छन् । बजेट कार्यान्वयनको संवेदनशील समयमा अधिकृत नपठाएर स्थानीय तहलाई अन्योलमा पारिएको उनको दाबी छ ।


















