नागरिकको जीवन र सम्मानको रक्षा गर्न सरकार जिम्मेवार बन्न संयुक्त नागरिक पार्टीको माग।

 

असार २५ काठमाडौं । संयुक्त नागरिक पार्टीले काठमाडौं महानगरपालिकाको नगर प्रहरीको कारबाहीपछि आत्मदाहको प्रयास गरेका २५ वर्षीय राइड–सेयरिङ चालक गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। पार्टीका संयोजक दल मर्दन कामीको हस्ताक्षर द्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटना केवल एक व्यक्तिको पीडा नभई राज्य र नागरिकबीच बढ्दो दूरी, निराशा तथा असंवेदनशीलताको गम्भीर संकेत भएको उल्लेख गरिएको छ।

कुनै पनि नागरिक आत्मदाहजस्तो कदम चाल्न बाध्य हुनु राज्यका लागि आत्मसमीक्षाको विषय भएको पार्टीको भनाइ छ। कामी द्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख गत वैशाख १२ गते काठमाडौं उपत्यकाको बागमती नदी किनारबाट भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा बल्खुका इन्द्रबहादुर राईले आफ्नो घर भत्काइएको देख्न नसकी नदीमा हाम फालेर ज्यान गुमाएको घटनाको समेत स्मरण गर्दै उनले उक्त घटनामा पीडित परिवारले न्याय नपाएको र विषय ओझेलमा परेको आरोप समेत लगाएकाछ्न । कामी भनेकाछ्न संयुक्त नागरिक पार्टीले यस्ता घटनाबाट राज्यले पाठ सिक्नुपर्नेमा अझै थप दशकौँदेखि बसोबास गर्दै आएका सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित परिवारलाई उचित पुनर्स्थापनाबिना होल्डिङ सेन्टरमा राखी त्यहाँबाट समेत हटाउने प्रयास भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छन ।

पार्टीले सुकुम्बासी तथा भूमिहीन नागरिकलाई अपराधीसरह व्यवहार गर्ने, सम्मानजनक विकल्पबिना विस्थापित गर्ने र उनीहरूलाई निराशाको चरम अवस्थामा पुर्याउने कार्य लोकतान्त्रिक मूल्य, मानव मर्यादा तथा नेपालको संविधानले प्रत्याभूत गरेको आवास अधिकारविपरीत भएको जनाएको छ। विज्ञप्तिमा सरकारलाई घटना भएपछि मात्रै सक्रिय हुने होइन, यस्ता दुःखद घटना हुनै नदिने गरी संवेदनशील र जिम्मेवार ढंगले काम गर्न आग्रह गरिएको छ। बिहिवार गणेश नेपाली घटनाको निष्पक्ष छानबिन, पीडितलाई आवश्यक उपचार गर्न र उनको सिघ्र स्वस्थ्य लाभको कामना गरिएको छ ।

विज्ञप्ति मार्फत कामीले भनेकाछ्न त्रिपुरेश्वरमा गणेश नेपालीले गरेको आत्मदाह प्रयास केवल एउटा व्यक्तिगत पीडा मात्रै होइन, यो हाम्रो राज्य, समाज र राजनीतिक संस्कृतिमाथि उठेको गम्भीर प्रश्न हो। जुन घटना जस्तै हुन नदिन सुकुम्बासी र भूमिहीन नागरिकको सम्मानजनक पुनर्स्थापना तथा नागरिकलाई निराशाको अवस्थासम्म पुग्न नदिने मानवीय नीति अवलम्बन गर्न सरकारसँग जोडदार माग गरिएको छ। संयुक्त नागरिक पार्टीले नागरिकको जीवन राज्यको सबैभन्दा ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै सरकारलाई शक्ति प्रदर्शनभन्दा मानवीय संवेदना, प्रचारभन्दा परिणाम र बहानाभन्दा समाधानलाई प्राथमिकता दिन आग्रह गरेको छ।