महिला उद्यमीलाई सरकारको साथ रहने प्रधानमन्त्री शाहको प्रतिबद्धता

प्रधानमन्त्री बालेन शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास र व्यवसाय विस्तारका लागि आवश्यक सबै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीले भोगिरहेका व्यवधान हटाउँदै उनीहरूका उत्पादनलाई पर्यटकीय क्षेत्रसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने बताए।

भेटमा महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण, निर्यात प्रवर्द्धन, व्यापार मेला तथा ‘बिजनेस म्याचिङ’ कार्यक्रममा अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेका थिए। साथै, महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारी सहयोगको आग्रह गरेको थियो।

प्रधानमन्त्री शाहले उक्त ब्रान्डलाई बजारमा प्रवर्द्धन गर्न सकारात्मक रहेको जनाउँदै महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय पहुँच विस्तार तथा नीतिगत सहजीकरणमा सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्।