भारतमा विद्यार्थी जनआन्दोलनमाथि भएको प्रहरी दमनको नेकपा (जनपक्ष)द्वारा कडा भर्त्सना, आन्दोलनप्रति ऐक्यबद्धता

काठमाडौं, साउन ७ — नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) ले भारतको राजधानी नयाँ दिल्लीमा चिकित्सा शिक्षा प्रवेश परीक्षामा भएको व्यापक अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत युवा विद्यार्थीहरूमाथि राज्यद्वारा गरिएको प्रहरी दमनको कडा शब्दमा भर्त्सना गरेको छ। पार्टीले उक्त आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै विद्यार्थीहरूको न्यायपूर्ण संघर्षलाई समर्थन गरेको छ।

पार्टीका प्रवक्ता दिनेश बर्तीला द्वारा जारी प्रेस वक्तव्यमा चिकित्सा शिक्षा प्रवेश परीक्षाको प्रश्नपत्र पटक–पटक चुहिँदा लाखौं विद्यार्थी अन्याय, असुरक्षा र मानसिक तनावको सिकार बनेको तथा कैयौं विद्यार्थीले आत्महत्यासम्म गर्न बाध्य भएको उल्लेख गरिएको छ। यस्तो गम्भीर परिस्थितिको नैतिक जिम्मेवारी लिँदै भारतका शिक्षामन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग पार्टीले गरेको छ।

वक्तव्यमा भारतमा विकसित भइरहेको विद्यार्थी आन्दोलन क्रमशः व्यापक जनविद्रोहतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै मजदुर, किसान, युवा, विद्यार्थी तथा उत्पीडित जनसमुदायको सहभागिता बढ्दै गएको दाबी गरिएको छ। पार्टीले यस परिस्थितिलाई जनपक्षीय परिवर्तनका लागि ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै भारतका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषणका आधारमा नयाँ समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा निर्माण गरी आन्दोलनलाई सही नेतृत्व दिनुपर्ने आवश्यकता औंल्याएको छ।

नेकपा (जनपक्ष) ले कम्युनिस्ट आन्दोलनभित्रका अवसरवादी प्रवृत्तिविरुद्ध वैचारिक तथा राजनीतिक संघर्ष अपरिहार्य रहेको उल्लेख गर्दै महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट शिक्षा ग्रहण गरी प्रत्येक देशको विशिष्ट परिस्थितिअनुसार नयाँ सांस्कृतिक क्रान्तिलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरेको छ। नेपालका क्रान्तिकारी कम्युनिस्टहरूले लिएको यही अनुभव भारतका क्रान्तिकारी शक्तिका लागि पनि उपयोगी हुने विश्वास वक्तव्यमा व्यक्त गरिएको छ।

पार्टीले रूस–युक्रेन युद्धपछि विश्व बहुध्रुवीय शक्ति–संघर्षको नयाँ चरणमा प्रवेश गरेको विश्लेषण गर्दै यस परिस्थितिले साम्राज्यवादका कमजोर कडीहरूमा जनविद्रोह र क्रान्तिकारी आन्दोलनका नयाँ सम्भावना सिर्जना गरिरहेको जनाएको छ। श्रीलंका, बंगलादेश र नेपाललाई त्यसका उदाहरणका रूपमा उल्लेख गर्दै भारतमा विकसित भइरहेको आन्दोलनलाई जनपक्षीय आमूल परिवर्तन तथा समाजवादी क्रान्तितर्फ अग्रसर गराउन संसारभरिका क्रान्तिकारी कम्युनिस्टहरूको अन्तर्राष्ट्रियतावादी ऐक्यबद्धता आवश्यक रहेको पार्टीले जनाएको छ।

वक्तव्यको अन्त्यमा नेकपा (जनपक्ष) ले भारतमा विद्यार्थीहरूमाथि भइरहेको प्रहरी दमनको अन्त्य गर्न माग गर्दै आन्दोलनरत युवा विद्यार्थीहरूको संघर्ष सफलताको कामना गरेको छ।