केसीको चेतावनी : ‘निर्वाचन आयोगलाई सरकारको छायाँ बन्न दिनु हुँदैन’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई पूर्ण स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायका रूपमा बलियो बनाउनुपर्ने बताएका छन्।

मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाइका क्रममा बोल्दै केसीले आयोग सरकारको ‘लाचार छाया’ बन्न नहुने धारणा राखे। उनले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन आयोगको भूमिका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजत्तिकै महत्वपूर्ण हुने बताए। जनताको वास्तविक जनादेश सुनिश्चित गर्न आयोगले स्वतन्त्र निर्णय लिन सक्ने वातावरण आवश्यक रहेको उनको भनाइ थियो।

केसीले संवैधानिक निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै सुधार आवश्यक रहेको बताए। उनले भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त टीएन शेषनको उदाहरण दिँदै नेपाली निर्वाचन आयुक्तमा पनि साहसिक निर्णय क्षमता आवश्यक रहेको उल्लेख गरे।उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा पनि सरकार र निर्वाचन आयोगले गम्भीर पहल गर्नुपर्ने बताए।