अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्टको ठेक्का प्रकरणमा मुद्दा अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल भएको स्वीकार गरेको छ। बिहीवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै राईले प्रधानमन्त्रीले बोलाएर विषयबारे छलफल गर्न सक्ने बताए।
उनले आफूहरू प्रधानमन्त्रीसँग छलफलका लागि गएको स्पष्ट पारे। राईले पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा दायर भइसकेकाले अभियोजनपत्र हेरेर आयोगको निर्णयमा कुनै कैफियत भए-नभएको मूल्याङ्कन गर्न सांसदहरूलाई आग्रह गरे। ‘कैफियत बिना हामीले मुद्दा लगेको अवस्था छैन,’ उनले भने।
यसअघि पासपोर्ट ठेक्का प्रकरणमा प्रधानमन्त्री कार्यालयमा आफूलाई करिब सात घण्टा राखेर मुद्दा चलाउन दबाब दिइएको विषय सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर सांसदहरूले बिहीवारको समितिको बैठकमा प्रमुख आयुक्त राईसँग प्रश्न गरेका थिए।


















