लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै तीन जना नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारु र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारुलाई शपथ गराएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा संविधानको धारा १६८(९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। पुनर्गठनसँगै केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। केन्द्रको राजनीतिक परिवर्तनपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीचको सत्ता साझेदारीअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरिएको हो।
शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसीलगायतको उपस्थिति रहेको थियो । लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेपाली कम्युनिस्ट पार्टीका १३, जनता समाजवादी पार्टी, नेपालका ५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका एक र एक जना स्वतन्त्र गरी ८३ जना सदस्य छन् ।


















