बाढीपीडितका लागि अमेरिकाले ५ लाख डलर सहयोग गर्ने

अमेरिकाले रसुवामा आएको बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद् प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ ।

मन्त्रालयले विपद् प्रतिकार्यमा सहयोग गर्न एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको जनाएको छ । अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहकार्यअन्तर्गत उक्त रकम उपलब्ध गराउने भएको हो ।

सहयोगबाट बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता उपलब्ध गराइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।