आइतबार त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभिर क्षेत्रमा क्षति पुर्याएपछि काठमाडौंलाई पश्चिम र पूर्वी नेपालसँग जोड्ने सडक पूर्ण रूपमा प्रभावित भएको छ । सोमबार पुनः पृथ्वी राजमार्गको मलेखु सडकखण्ड भासिएपछि प्रमुख राजमार्गमा पूर्ण रूपमा ठप्प हुन पुगेको छ । रसुवा बाढीपछि असर मुख्य राजमार्गमा परेपछि राजधानीको लाइफलाइन मार्ग नै प्रभावित भएको हो ।
दिनकै हजारौँ गाडी आवागमन हुने राजमार्ग प्रभावित भएपछि राजधानीसँग जोडिने वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । पृथ्वी राजमार्गजति फराकिला नभए पनि तत्कालको लागि मुख्य तीनवटा मार्गबाट काठमाडौं आवागमन गर्न सकिनेछ ।
कुन–कुन हुन् तीन वैकल्पिक राजमार्ग ?
काठमाडौंलाई आवागमनको लागि हेटौंडा–दामन–पालुङ–नौबिसे निस्कने त्रिभुवन राजपथ एउटा विकल्प हो । धेरै घुम्ती र साँघुरो सडक भएको यो खण्डमा थोरै सिट भएका यात्रुवाहक बस सञ्चालन गर्न सकिनेछ । त्यस्तै, हेटौँडा–भीमफेदी–कुलेखानीहुँदै काठमाडौं आउने अर्को वैकल्पिक बाटो छ । यो बाटो तीन विकल्पमध्ये सबैभन्दा साँघुरो हो ।
हलुका निजी सवारीसाधन यो खण्डमा चलाउन सकिनेछ । भीमफेदीदेखि कुलेखानी खण्डको भाग साँघुरो र अत्यधिक मोड भएकोले यो खण्डमा ठूला सवारी साधन चलाउन सकिँदैन । तेस्रो विकल्पमा हेटौँडा–मकवानपुरगढी–ठिगंन–छपेली हुँदै ललितपुर निस्कने अर्को वैकल्पिक मार्ग रहेको छ । केही स्थानमा सडक कच्ची भएपछि अधिकांश सहजै दोहोरो गाडी पार गर्ने र ठूला सवारीसाधनसमेत यो खण्डमा चलाउन सकिनेछ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु नजिकै शीतल बजारमा पनि सडक भासिएको छ । आइतबार आएको बाढीपछि चर्किएको यो खण्ड अहिले भत्किएको स्थानीय सुयोग मरहठ्ठाले जानकारी दिए । सडक झन्डै ६० मिटर भासिएको छ । आइतबार कृष्णभिर र मलेखुनजिकै परेवाभिरमा सडक भासिएपछि यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
मुख्य राजमार्गका विभिन्न ठाउँमा एकैपटक सडक कटान र पहिरो गएकाले राजधानी काठमाडौंलाई पूर्वी तथा पश्चिमी नेपालसँग जोड्ने यो प्रमुख सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । त्यस्तै, हेटौँडाबाट कुलेखानी, चित्लाङहुँदै थानकोट निस्कने अर्को पनि बाटो छ । यो पनि हलुका सवारी साधनमार्फत राजधानी आवागमन गर्ने अर्को वैकल्पिक मार्ग हो ।

















