संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी बाढी र जलवायु न्यायको मुद्दा उठाउने तयारीमा प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर नेपालले भोगिरहेको जलवायु परिवर्तनको असर र पछिल्लो भोटेकोसी बाढीबाट भएको क्षतिको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार महासभामा नेपालले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिम, त्यसबाट भइरहेको मानवीय तथा भौतिक क्षति र नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेका समस्याबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने विषयमा छलफल भइरहेको छ ।

विशेषगरी भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमको पछिल्लो उदाहरणका रूपमा प्रस्तुत गर्ने तयारी छ । बाढीबाट भएको मानवीय र भौतिक क्षतिबारे जानकारी गराउँदै जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने असमान रूपमा भोग्नुपरिरहेको विषय प्रधानमन्त्री शाहले उठाउने तयारी रहेको स्रोतले जनाएको छ ।

नेपालले हिमाली क्षेत्रमा बढ्दो तापक्रमसँगै अतिवृष्टि, बाढी, पहिरो, हिमताल विस्फोटलगायत जलवायुजन्य जोखिम बढिरहेको विषयलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेको छ । महासभामा जलवायु न्यायको मुद्दालाई जोड दिँदै जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता मुलुकलाई आवश्यक जलवायु वित्त, क्षतिपूर्ति तथा जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउनुपर्ने विषय उठाउनेबारे पनि छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री शाहको महासभा सहभागिताका क्रममा नेपालले जलवायु परिवर्तनका कारण सिर्जित क्षतिलाई अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारीका रूपमा स्थापित गर्न पहल गर्ने तयारी गरेको छ ।