राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताएको छ । उनले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको सङ्केतका रूपमा बुझ्न पनि आग्रह गरेको छ ।
भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी राजधानी काठमाडौँ फर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुन:स्थापनाका सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट राज्यका स्थानीयलगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए । उनले हामी नेपालीहरू अत्यन्त गहिरो शोक र पीडाबाट गुज्रिरहेको यस कठिन तथा दु:खद क्षणमा आफू नागरिकहरूमाझ केही भन्न उपस्थित भएको उल्लेख गर्दै यो दु:खको घडीमा आफू पनि सबैको साथमा रहेको बताए।
“यस प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो छ । अहिले उनीहरूलाई राज्यको साथ चाहिएको छ, भरोसा चाहिएको छ र सरकार, राजनीतिक दल एवं सम्पूर्ण नागरिक सङ्घसंस्था त्यसका लागि क्रियाशील छन् भन्ने मैले ठानेको छु । यो दु:खको घडीमा म आफू पनि सबैको साथमा रहेको विश्वास दिलाउन चाहन्छु”, राष्ट्रपति पौडेलले भने, “हामीलाई थाहा छ कि विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो, त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण सङ्केतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु ।”
राष्ट्रपति पौडेलले यतिबेलाको गहिरो पीडालाई कम गर्न सक्ने शब्दहरू आफूहरुसँग नभएको उल्लेख गर्दै भने, “परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहेका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा विश्वस्त पार्न चाहन्छु । तपाईँहरूले अनुभव गरिरहेको अनिश्चितताको यो क्षणको पीडा सिङ्गो राष्ट्रले नै महसुस गरिरहेको छ ।”
उद्धार गरिएका प्रत्येक व्यक्तिको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए । अहिले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अन्य जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकहरूप्रति विशेष ध्यान दिन आवश्यक रहेको तथा अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्छ भन्ने विषयमा हामी विशेष रूपमा सचेत र संवेदनशील रहनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।
राष्ट्रपति पौडेलले नेपाली नागरिक तथा विदेशी नागरिक दुवैका हकमा उनीहरूका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनहरूलाई घर ल्याउन आवश्यक सहजीकरण तथा मानवीय सहयोग उपलब्ध गराउन आवश्यक भएको बताए । सबैभन्दा महत्वपूर्ण कुरा हामीले यस विपत्तिमा ज्यान गुमाएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।
“मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्दछ । आवश्यकतानुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने मलाई विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।
यतिबेला नेपालले कहालीलाग्दो प्राकृतिक प्रकोपको सामना गर्नुपरेको र २०८३ भदौ १० गतेका दिन हिमनदीको बरफ तथा चट्टानसहितको हिमपहिरो खसेर आएको विनाशकारी बाढीले नेपाली जनतामाथि अकल्पनीय पीडा ल्याएको तथा यस विपत्तिले असङ्ख्य मानव जीवन, घरपरिवार र जीविकोपार्जनका आधारहरू बगाउनुका साथै सडक, पुल, जलविद्युत् आयोजनालगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा समेत व्यापक तथा गम्भीर क्षति पुर्याएको उनले उल्लेख गरे ।
“आज सम्पूर्ण राष्ट्र यस भयावह विपत्तिकोे शोकमा छ । यो विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल होस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलले भने । विपत्तिमा प्रत्यक्ष रूपमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा उद्धार र राहतमा संलग्न सम्पूर्ण व्यक्ति र संस्थाप्रति उहाँले उच्च सम्मान व्यक्त गरे ।
राष्ट्रपति पौडेलले उद्धार कार्यमा संलग्न धेरैले आफ्नो ज्यानको समेत पर्वाह नराखी पीडित तथा प्रभावित नागरिकहरूको उद्धारका लागि अत्यन्त जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको बताए । “वास्तवमा उहाँहरूको अदम्य साहस, समर्पण र सेवाभाव नेपालको उत्कृष्ट मानवीय भावना र राष्ट्रिय चरित्रको प्रतिनिधित्व गर्दछ भन्ने कुरा म गर्वका साथ यहाँ भन्न चाहन्छु । तर, कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवं जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन”, राष्ट्रपति पौडेलले भने ।
नेपालमा कार्यरत, पर्यटक, हिमाली क्षेत्रमा पदयात्रामा रहनुभएका वा आध्यात्मिक यात्राका क्रममा नेपालमा रहनुभएका हरेक विदेशी नागरिकहरू, जसले यस विपत्तिमा परी ज्यान गुमाएको छ, उहाँहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आफ्ना प्रियजन गुमाएका सम्पूर्ण परिवारहरूप्रति नेपालका तर्फबाट हार्दिक समवेदना व्यक्त गरे । नेपालले आफ्नो भूमिमा रहेका प्रत्येक व्यक्तिलाई आफ्नै परिवारको सदस्यका रूपमा मान्दछ भन्दै उनले प्रभावित नागरिकहरू भएका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगहरूसँग सहकार्य गर्ने उनको भनाइ थियो ।
साथै राष्ट्रपति पौडेलले यस कठिन घडीमा नेपालले सामना गरिरहेको यो विशाल चुनौतीका बीच तत्काल खोज तथा उद्धार जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरणहरू उपलब्ध गराई द्रुत सहयोग र सहकार्य प्रदान गर्ने हाम्रा छिमेकी मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायका सम्पूर्ण सदस्यहरूप्रति कृतज्ञता व्यक्त गरे । नेपालले विगतमा पनि भूकम्प, बाढी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको र प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ यस्ता कठिन परिस्थितिको सामना गर्दै आएको उनले स्मरण गरे।
“म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घसंस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने । उनले यो विभाजनको समय होइन र एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन भने।
“यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो । यो समय पुनर्निर्माण, पुन:स्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो । हामी पुनर्निर्माण, पुन:स्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ”, राष्ट्रपति पौडेलले भने । उनले यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुन: गम्भीर रूपमा सचेत पनि गराएको छ भने ।
“म अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने । साथै उनले भगवान्ले हामी सबैलाई यस अप्रत्याशित तथा भयानक विपत्तिको सामना गर्दै यसबाट पार पाउन आवश्यक शक्ति र साहस प्रदान गर्ने विश्वास व्यक्त गरे ।


















