घण्टेहरू झाेलेकै बाटाेमा लागे : भिक्टर पौडेल

युवाहरूमाझ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले सरकार समर्थक कार्यकर्ताकाे कडा आलाेचना गरेका छन् । पौडेलले साेमबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै रास्वपाका कार्यकर्ताकाे आलाेचना गरेका हुन् ।

पौडेलले विगतमा कांग्रेस, एमाले र माओवादीका अन्ध समर्थकहरूले गर्ने व्यवहारकै परिणामस्वरूप ती दलहरूको अहिलेको अवस्था बनेको टिप्पणीसमेत गरेका छन् । अहिले रास्वपाका समर्थकहरूले पनि त्यही बाटो पछ्याइरहेको भन्दै उनले कटाक्ष गरेका छन् । ‘त्यस्तै झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ । अनि अहिले घण्टेहरूले त्यही बाटो फलो गर्दै छन्,’ पौडेलले लेखेका छन् ।

बाढीमा आफन्त गुमाएका वा हराएका परिवारले सरकारसँग गुहार माग्दा बेवास्ता र आश्वासन मात्रै पाएपछि आक्रोश पोख्नु स्वाभाविक भएको उनले बताएका छन् । पौडेलले बाढीमा आफन्त हराएका वा गुमाएका व्यक्तिहरू पीडाका कारण सामान्य अवस्थामा नरहने उल्लेख गर्दै उनीहरूले राम्रोसँग खान र सुत्नसमेत नसक्ने अवस्थामा सरकारसँग सहयोगको अपेक्षा गर्नु स्वाभाविक भएको बताएका हुन् ।

रास्वपा र सरकारका अन्ध समर्थकहरूले पीडामा रहेका आफन्तको भावनालाई बुझ्नुको सट्टा उल्टै ‘घाउमा नुन छर्कने’ काम गरेकाे उनले उल्लेख गरेका छन् ।