आस्थाको नाममा आत्मदाह : धर्म, राजनीति र अन्तर्राष्ट्रिय प्रचारमाथि प्रश्न

हालसालै एक बौद्ध भिक्षुले आत्मदाह गरे । आत्मदाह जस्तो कायर बाटोलाई केही मानिसले बलिदानको कलेवर ओढाउने काम गरे ।
आत्मदाहलाई ‘बलिदान’को आवरण दिने प्रवृत्तिमाथि बौद्ध धर्मावलम्बी र अधिकारकर्मीले घटनालाई उढाएका छन् । सनसनीपूर्ण प्रचारले आत्महानि बढाउने जोखिम बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा नेपालसहित विभिन्न मुलुकमा आत्मदाह तथा आत्महानिका घटना सार्वजनिक भइरहेका घटनालाई राजनीतिक प्रतिरोध, धार्मिक बलिदान वा ‘वीरता’का रूपमा चित्रित गर्ने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठ्न थालेको छ। विशेषगरी विदेशमा भएका केही आत्मदाहका घटनापछि धार्मिक तथा राजनीतिक संगठनहरूले गर्ने प्रचार, श्रद्धाञ्जली सभा र सामाजिक सञ्जालमा हुने व्यापक प्रसारले मानव जीवनको मूल्यभन्दा राजनीतिक सन्देशलाई प्राथमिकता दिएकोले आलोचना हुन थालेको छ।

अन्तर्राष्ट्रिय मामिलामा लामो समयदेखि काम गर्दै आएका एक सञ्चारकर्मी तथा बौद्ध धर्मका अनुयायीका अनुसार कुनै पनि राजनीतिक, धार्मिक वा भूराजनीतिक उद्देश्य प्राप्तिका लागि मानव जीवनलाई साधन बनाउनु स्वीकार्य हुन सक्दैन। उनहरुले आत्मदाहलाई ‘धार्मिक बलिदान’को रूपमा प्रस्तुत गर्नु बौद्ध धर्मको करुणा, अहिंसा र जीवनप्रतिको सम्मानको मूल शिक्षामाथि नै प्रश्न उठाउने विषय भएको बताएका छन् ।

बौद्ध दर्शनमा मानव जीवनको महत्व
बौद्ध दर्शनमा मानव जीवनलाई अत्यन्त मूल्यवान् मानिन्छ। बज्रयान तथा महायान परम्पराका विभिन्न बौद्ध ग्रन्थमा मानव जन्म प्राप्त गर्नु अत्यन्त कठिन रहेको दृष्टान्त प्रस्तुत गरिएको छ। मानव जीवनलाई नै नैतिक आचरण, ध्यान, प्रज्ञा र धर्मको अभ्यासमार्फत दु स् खबाट मुक्त हुने अवसरका रूपमा व्याख्या गरिएकोे छ । यही कारण बौद्ध परम्परामा मानव शरीरलाई धर्मसाधनाको महत्वपूर्ण माध्यम मानिन्छ। यस्तो दर्शनमा आफ्नो जीवन स्वयं समाप्त गर्नु वा अरूलाई त्यस्तो कार्यका लागि प्रेरित गर्नु धर्मको मूल उद्देश्यसँग कसरी मेल खान सक्छ भन्ने प्रश्न उठ्छ।

बौद्ध धर्मको पहिलो शील नै प्राणीहत्या नगर्नेसँग सम्बन्धित छ। विभिन्न विनय परम्परामा जीवन हरण तथा त्यसका लागि उक्साउने कार्यलाई गम्भीर नैतिक अपराधका रूपमा लिइएको पाइन्छ। यसकारण आत्मदाहलाई सामान्य धार्मिक अभ्यास वा बौद्ध साधनाका रूपमा व्याख्या गर्नु बौद्ध नैतिकताको मूल भावनासँग मेल खाने देखिदैन।

‘बोधिसत्वको बलिदान’ भन्दै आत्मदाहलाई वैधता दिन मिल्छ ?
बौद्ध साहित्यमा बोधिसत्वले आफ्नो शरीरसमेत अन्य प्राणीको हितका लागि अर्पण गरेका कथाहरू पाइन्छन्। यही आधारमा केहीले चरम आत्मत्यागलाई धार्मिक बलिदानसँग जोड्ने गरेका छन्। तर बौद्ध दर्शनका अध्येताहरूका अनुसार त्यस्ता आख्यानलाई सामान्य व्यक्तिले राजनीतिक आक्रोश, निराशा वा बाह्य दबाबमा गरेको आत्मदाहसँग समान रूपमा बुझ्न मिल्दैन। बोधिसत्वका त्यस्ता कथाहरू करुणा, निस्स्वार्थता, प्रज्ञा र अहंकारको अतिक्रमणसँग सम्बन्धित आध्यात्मिक आदर्शका रूपमा प्रस्तुत गरिन्छन्। त्यसलाई राजनीतिक माग पूरा गर्न वा विरोध प्रदर्शनको माध्यमका रूपमा प्रयोग गर्नु फरक विषय हो। त्यसैले ‘धर्मका लागि आत्मदाह’ वा ‘बोधिसत्वको बलिदान’ जस्ता भाष्यले आत्महानिलाई धार्मिक वैधता प्रदान गर्ने प्रयास गरेको हो कि होइन भन्ने विषयमा गम्भीर बौद्धिक बहस आवश्यक देखिन्छ ।

आत्मदाहको पछाडि राजनीतिक स्वार्थ छ?
आत्मदाहका केही घटनालाई लिएर राजनीतिक उद्देश्यका लागि धार्मिक भावनाको प्रयोग भएको आरोप पनि लाग्दै आएको छ। आलोचकहरूको आरोप छ—विदेशमा रहेका केही राजनीतिक तथा धार्मिक समूहहरूले युवा भिक्ष्ॉ तथा अनुयायीहरूको गहिरो धार्मिक आस्थालाई राजनीतिक अभियानसँग जोड्ने गरेका छन्। आत्मदाहपछि आयोजना गरिने प्रदर्शन, श्रद्धाञ्जली कार्यक्रम र अन्तर्राष्ट्रिय प्रचारले घटनालाई राजनीतिक दबाब सिर्जना गर्ने माध्यम बनाउने गरेको उनीहरूको दाबी छ।

यद्यपि यस्ता गम्भीर आरोपलाई पुष्टि गर्ने प्रत्येक घटनामा स्वतन्त्र प्रमाण, सम्बन्धित संस्थाको आधिकारिक धारणा र विश्वसनीय अनुसन्धान आवश्यक हुन्छ। कुनै व्यक्तिको आत्मदाहलाई आधार बनाएर सम्पूर्ण धार्मिक समुदाय वा संस्थालाई दोषी ठहर गर्नु पनि उचित हुँदैन। तर आत्मदाहलाई राजनीतिक प्रचारको सामग्री बनाउने प्रवृत्तिमाथि भने सार्वजनिक बहस हुन आवश्यक छ।

मृत्युलाई ‘वीरता’ बनाउने प्रचार कति खतरनाक?
आत्महत्या वा आत्महानिका घटनाको सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा हुने प्रस्तुति पनि संवेदनशील विषय हो। मनोविज्ञान र सञ्चार अध्ययनमा आत्महत्याको सनसनीपूर्ण तथा महिमामण्डित प्रस्तुतीकरणले कमजोर अवस्थामा रहेका व्यक्तिमा जोखिम बढाउन सक्ने विषयलाई ‘वेर्थर इफेक्ट’सँग जोडेर अध्ययन गरिएको छ। यस्तो अवस्थामा आत्मदाह गर्ने व्यक्तिलाई ‘नायक’, ‘शहीद’ वा ‘वीर’का रूपमा प्रस्तुत गर्नु जोखिमपूर्ण हुन सक्छ। विशेषगरी सामाजिक सञ्जालमा घटनाका भिडियो, प्रत्यक्ष प्रसारण, धम्की र उत्तेजक सामग्री तीव्र गतिमा फैलिँदा यसको प्रभाव अझ व्यापक हुन सक्छ।

यसकारण पत्रकारिता क्षेत्रले यस्ता घटनाको रिपोर्टिङ गर्दा घटनाको सनसनीभन्दा मानव जीवनको मूल्य, परिवारमा परेको असर र आत्महानि रोकथामलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।

सामाजिक सञ्जालले थप्दैछ नयाँ चुनौती
डिजिटल युगमा राजनीतिक तथा धार्मिक अभियानको प्रभाव सामाजिक सञ्जालमार्फत क्षणभरमै विश्वभर पुग्न सक्छ। आत्महानिको धम्की वा त्यससम्बन्धी सामग्री प्रत्यक्ष प्रसारण हुने अवस्थाले समस्या अझ जटिल बनाएको छ। कुनै व्यक्तिको चरम पीडालाई राजनीतिक वा सामाजिक ‘कन्टेन्ट’मा परिणत गर्ने प्रवृत्तिले पीडित व्यक्ति र उसको परिवारमाथि थप अन्याय गर्न सक्छ। आत्मदाहको दृश्य वा धम्कीलाई बारम्बार प्रसारण गर्दा दर्शकमा संवेदनशीलता घट्ने मात्र होइन, जोखिममा रहेका व्यक्तिमा त्यस्तो व्यवहार अनुकरण गर्ने सम्भावनासमेत बढ्न सक्ने विज्ञहरूको बनाई छ। यसले समाजमा हिंसा बढाउने र अरानकता फैलाउने जोखिम विज्ञहरुले देखाएका छन् ।

राजनीतिक उपलब्धिभन्दा ठूलो क्षति
आत्मदाहले कुनै राजनीतिक माग पूरा गर्‍यो वा गरेन भन्ने बहस आफ्नै ठाउँमा छ। तर जीवन गुमेपछि त्यसको क्षति भने अपरिवर्तनीय हुन्छ। एक जना व्यक्तिको मृत्युले परिवारमा आर्थिक, सामाजिक र भावनात्मक संकट निम्त्याउछ। अभिभावक, जीवनसाथी, सन्तान र आफन्तले लामो समयसम्म त्यसको पीडा बोक्नुपर्छ। राजनीतिक आन्दोलनले दीर्घकालीन उपलब्धि हासिल गर्न संवाद, संगठन, शिक्षा, जनचेतना र संस्थागत संघर्षको बाटो रोज्न सक्नुपर्छ । तर मानव जीवन समाप्त गरेर हासिल गर्न खोजिएको राजनीतिक प्रभाव कति टिकाउ हुन्छ भन्ने प्रश्न आफैंमा गम्भीर छ।

धर्मलाई राजनीतिक हतियार बन्न नदिने
धर्म मानिसलाई करुणा, संयम, नैतिकता र आत्मअनुशासनतर्फ डोर्‍याउने माध्यम बन्नुपर्ने हो। तर धार्मिक आस्थालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिँदा त्यसले धर्मको मूल मर्म नै कमजोर पार्छ । बौद्ध परम्पराको मूल शिक्षा करुणा र अहिंसामा आधारित छ। त्यसैले कुनै पनि राजनीतिक वा भूराजनीतिक उद्देश्यका लागि आत्मदाहलाई धार्मिक कर्तव्य वा महान् बलिदानका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले बौद्ध धर्मको नैतिक आधारमाथि बहस निम्त्याउँछ। धर्मलाई राजनीतिक स्वार्थबाट अलग राख्ने, युवालाई आलोचनात्मक चेतना र शिक्षासँग जोड्ने तथा चरम आत्महानिको सट्टा संवाद र शान्तिपूर्ण प्रतिरोधका बाटो खोज्न अहिले आवश्यक छ।

जीवन जोगाउनु नै पहिलो जिम्मेवारी
कुनै पनि विचार, धर्म, राजनीति वा भू–राजनीतिक उद्देश्य मानव जीवनभन्दा माथि हुन सक्दैन। आत्मदाहलाई महिमामण्डित गर्नुको सट्टा यसको पछाडिका सामाजिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक कारण पहिचान गर्न आवश्यक छ। साथै जोखिममा रहेका व्यक्तिलाई समयमै मनोसामाजिक सहयोग उपलब्ध गराउने, सञ्चारमाध्यमलाई जिम्मेवार बनाउने र सामाजिक सञ्जालमा आत्महानिसम्बन्धी सामग्रीको संवेदनशील व्यवस्थापन गर्ने विषयमा पनि गम्भीर पहल आवश्यक छ।

बौद्ध धर्मको करुणा र अहिंसाको मूल भावनालाई आधार मान्ने हो भने धर्मको वास्तविक शक्ति जीवन समाप्त गर्नुमा होइन, जीवन जोगाउनु, दुस्ख घटाउनु र समाजलाई शान्तितर्फ लैजानुमा हो । राजनीतिक संघर्षका आफ्ना बाटा हुन्छन्, धार्मिक आस्थाका आफ्ना मूल्य हुन्छन्। तर ती दुवैको केन्द्रमा मानव जीवनको सम्मान कायम रहनुपर्छ।

आस्था जीवनको ज्योति बन्नुपर्छ तर मानव शरीरलाई राजनीतिक आगो बनाउन दिनु हुदैँन ।