भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन् । घटनाको एक वर्ष पूरा भएको अवसरमा आफ्नो घरमा लुटपाट र आगजनी भइरहेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै बस्नेतले पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही नभएको बताएका हुन् ।

गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचनामा आगजनी भएको उल्लेख गर्दै बस्नेतले सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय तथा ४ सयभन्दा बढी नागरिकका घरसम्पत्तिमा क्षति पुर्‍याइएको बताएका छन्।

भदौ २४ लाई इतिहासको ‘कालो दिन’का रूपमा स्मरण गर्दै उनले घटनामा संलग्न व्यक्ति वा शक्ति जुनसुकै आवरणमा भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।