रास्वपा काम र कर्मको हिसाब दिने ठाउँमा छ, नभए इतिहासले धिक्कार्नेछ :प्रसाईं

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन–जी आन्दोलनको जगमा उभिएको सरकारले अपेक्षित नतिजा नदिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले नतिजा दिनुपर्ने सरकारका काम ओठे औपचारिकतामा सीमित भएको बताएका हुन् ।

‘कुरोको चुरो उही हो । सहिदहरूप्रतिको श्रद्धाञ्जली हाम्रो ओठे औपचारिकताबाट होइन, हाम्रा काम र व्यवहारले पुष्टि हुनुपर्छ । के भइरहेको छ त ? एकातिर जेन–जी नरसंहारका अभियुक्तलाई समातियो, छोडियो, आजसम्म मुद्दा चलाइएन । अर्कोतिर जेन–जी आन्दोलनको जगमा उभिएको छ सरकार,’ उनले भने, ‘जेन–जी आन्दोलनमा सहभागी भएकै आधारमा सयौँ युवाहरू जेलमा छन् । जेन–जी परिषद्को गठन र १० बुँदे सम्झौताको प्रगतिको कार्यान्वयन देखिँदैन । सरकार सुशासनको स्पिरिटमा दौडिन खोज्छ । के नमिलेर हो ? अदालतले झ्यापझ्याप ब्रेक लगाइदिन्छ ।’

चर्को भाषण नभई कर्मले नतिजा दिनुपर्ने भन्दै उनले नभए रास्वपा पनि पुराना दलजस्तै हुने उनको भनाइ छ । ‘आज चर्का भाषण गर्ने दिन होइन । आजसम्मका काम र कर्महरूको हिसाबकिताब बुझाउने दिन हो । सत्य तितो हुन्छ, तर पचाउन सक्नुपर्छ,’ उनले भने, ‘यदि यो ऐतिहासिक अवसरलाई न्याय गर्न सकिएन भने, जसका विरुद्ध जेन–जी आन्दोलन भएको थियो, इतिहासले तिनीहरूलाई भन्दा तपाईं र मलाई धिक्कार्नेछ ।’