अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि शुक्रबार २७.९४ अंक बढेको छ । अर्थमन्त्री वाग्लेले सोमबारसम्म सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने घोषणा गरेका छन् । शुक्रबार विहान नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा बोल्दै वाग्लेले सोमबारसम्म बजार सुधारका लागि कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका थिए ।
आज नेप्से १.१० प्रतिशत बढेसँगै परिसूचक २५५९ अंकमा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो ।
२३७ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ९ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । बैंकिङ ०.७८, विकास बैंक १.०५, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.९६, जलविद्युत् १.८३, लगानी १.५८, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा १.७२, अन्य ०.४२ तथा व्यापार १.४० प्रतिशत बढे ।
उपकार लघुवित्तको १०.५३, अभियान लघुवित्तको १०.०९, सिन्धु विकास बैंकको ९.५४, सर्वोत्तम पेन्ट्सको ८.०४, राप्ती हाइड्रोको ६.१८ प्रतिशत मूल्य बढ्यो । त्यस्तै मल्टिपर्पस फाइनान्सको ५.७१, इमर्जिङ नेपालको ४.२१, ओम मेगाश्री फर्मास्युटिकल्सको ४.०० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर तथा शिवश्री हाइड्रोपावर रहे ।


















