पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोल र डिजेलको नयाँ खरिद मूल्य बढेर आए पनि तत्काल उपभोक्ता मूल्य नबढाउने निर्णय गरिएको हो । निगमका अनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको ४ रुपैयाँ ६८ पैसा बढेको छ ।

तर, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी हाल कायम खुद्रा बिक्री मूल्य नै यथावत् राख्ने निर्णय गरेको जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको अवस्थामा स्वचालित मूल्य समायोजन नगर्दा आगामी १५ दिनमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।