सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ। बुधबार बिहान साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँ तलामा रहेको मुद्दा फाँटमा आगो लागेको देखिएको हो। त्यसपछि आगोलाई नियन्त्रणमा लिइएको थियो।

२० र २१ नम्बरको फाँटमा आगलागी भएको हो। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार आगलागीबाट तीन वटा कम्प्युटर जलेका छन्। उनले कुनै कागजातहरू नजलेको बताए।

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ। यसअघि भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सर्वोच्चको पूरानो भवनमा आगजनी भएको थियो। आगजनी पछि सर्वोच्च अदालतको कामकारबाही नयाँ भवनमा सरेको थियो।