प्रधानसेनापति सिग्देलले चिनियाँ रक्षामन्त्रीसँग गरे भेटवार्ता

प्रधानसेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देलले बुधबार चिनियाँ रक्षामन्त्री जुनसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति सिग्देलले सोही दिन चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को निरीक्षण भ्रमणसमेत गरेका छन् । त्यसैगरी उनले बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन सत्रमा समेत सहभागिता जनाएका छन् ।

उक्त भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चीनसँगको द्विपक्षीय सैनिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफललाई निरन्तरता दिएका छन् ।