बंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र गण्डकी प्रदेशका एक / दुई स्थानमा भने अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, मधेश प्रदेशका एक / दुई स्थानमा भारी वर्षा हुनसक्ने तथा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्नसक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्का अनुसार न्यूनचापीय प्रणाली हाल भारतको छत्तीसगढ आसपास आइपुगेको छ। यसको प्रभाव क्रमशः नेपालतर्फ सर्दै जाने भएकाले भोलि र पर्सि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको प्रभाव बढी देखिन सक्नेछ।
विशेषगरी बागमती प्रदेशदेखि पश्चिमतर्फका क्षेत्रमा वर्षाको मात्रा बढी हुने अनुमान गरिएको छ। भोलि र पर्सि पूर्वी नेपाल तथा मधेश प्रदेशमा वर्षाको मात्रा क्रमशः कम हुँदै जाने तथा बागमती प्रदेशमा समेत वर्षा घट्दै जाने पूर्वानुमान छ।
१२ जिल्ला बाढीको उच्च जोखिममा
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले केही साना नदी तथा खोलामा मध्यमदेखि उच्च जोखिम रहने जनाएको छ। महाशाखाका अनुसार गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर उच्च जोखिममा रहेका जिल्ला हुन्।
यी जिल्लालगायत आसपासका क्षेत्र भएर बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्नसक्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।


















