हर्मुज खोल्न ८० देशको आह्वान

बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् ।

बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त आह्वान गरेको हो । उनले हर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताए ।

बहराइनको विदेश मन्त्रालयका अनुसार अल–जयानीले मार्चमा पारित संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव २८१७ पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ । उनले मानको तटमा जहाजमाथि भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु तथा हुथी समूहले साउदी अरबतर्फ छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना जनाए ।

असी देशको संयुक्त वक्तव्यमा इरानबाट छिमेकी मुलुकविरुद्ध भएका भनिएका आक्रमण, अन्तर्राष्ट्रिय व्यापारमा परेको अवरोध तथा ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा उत्पन्न जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ । सहभागी देशहरूले अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज जलघाँटी तत्काल खोल्न र कुनै अवैध शुल्क वा अवरोधबिना जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न आग्रह गरेका छन् ।

वक्तव्यमा यमनका हुथी समूहको गतिविधि, साउदी अरविरुद्धका आक्रमण तथा लाल सागरमा भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गरिएको छ । बाब अल–मन्दब जलघाँटीतर्फ हुने थप गतिविधिले अन्तर्राष्ट्रिय समुद्री आवतजावत र विश्वव्यापी व्यापारमा जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।