नेपाल उद्योग वाणिज्य महासंघका नि:वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढाउन सुधारिएका कानून प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी तीन दिने कानून सुधार परामर्श कार्यशालामा बोल्दै ढकालले राम्रा कानून बने पनि कार्यान्वयन कमजोर हुँदा लगानीको वातावरण प्रभावित भएको बताए।
उनले आवश्यक कानूनी सुधार अध्यादेशमार्फत भए पनि छिटो अघि बढाउन सरकारलाई आग्रह गरे। निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गर्न तयार रहेको बताउँदै ढकालले स्वदेशी लगानीकर्ताले दिने सकारात्मक सन्देशले विदेशी लगानीसमेत आकर्षित गर्ने धारणा राखे।


















