दसैँको अग्रिम टिकट बुकिङ खुला गर्न विभागले यातायात व्यवसायीलाई छलफलमा बोलायो

यातायात व्यवस्था विभागले दसैँतिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा छलफल गर्न यातायात व्यवसायीलाई बोलाएको छ । भोलि बिहान ११ बजे विभागमा छलफल डाकिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले जानकारी दिए ।

सार्वजनिक यातायातको व्यवस्थापन, भाडादरमा छुटलगायतका चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापन गर्नका काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिर जिल्लाहरूबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुहरूको सुविधा र सुरक्षाका सवालमा छलफल गरिने जनाइएको छ ।

चाडपर्वको समयमा मुख्य गन्तव्यहरूको यात्रालाई सहज र सुरक्षित बनाउन अग्रिम टिकट बुकिङ खुला गर्ने विषयसमेत छलफल गरिने विभागले जनाएको छ । मुख्य सरोकारावाला यातायात व्यवसायीसँगै ट्राफिक प्रहरी, यातायात सञ्चालक मजदुर र बसपार्क सञ्चालक तथा व्यवस्थापकलाई समेत छलफलमा बोलाइएको छ ।