सिनेमालाई केवल मनोरञ्जनमा सीमित नराखी सङ्कटमा परेका बालबालिकाको सहारा र आवाज बनाउने उद्देश्यका साथ बङ्गलादेशी निर्देशक तथा निर्माता नादिम इकबालका तीन वृत्तचित्र काठमाडौँमा प्रस्तुत गरिएका छन्। नेपाल भाषा मंकाः खला र आर्ट बुमको आयोजनामा शनिबार सम्पन्न उक्त कार्यक्रममार्फत विपद् प्रभावित बालबालिकाको उज्ज्वल भविष्य र शिक्षाका लागि ऐक्यबद्धता प्रकट गरियो।
फ्रिडम फाइटर फरेभर’ र ‘विद्याभुवन’ समावेश थिए। गत अगस्ट महिनामा आएको विपद्का कारण करिब २० हजार बालबालिका प्रभावित भएको, धेरैले अभिभावक गुमाएको र विस्थापित हुनुपरेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै निर्देशक इकबालले आफ्ना सिर्जनाहरू ती बालबालिकाप्रति समर्पित गरेका हुन्।
कार्यक्रममा बोल्दै निर्देशक इकबालले विपद्को घडीमा पनि बालबालिकाको शिक्षा, संस्कृति र भविष्यको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए। सिनेमा मनोरञ्जनमा मात्र सीमित नरही समुदायलाई जोड्ने, इतिहास जोगाउने र आवाजविहीनहरूको आवाज बन्ने सशक्त माध्यम भएको धारणा उनले व्यक्त गरे।
प्रदर्शित तीनवटै वृत्तचित्रले भाषा, स्वतन्त्रता र शिक्षालाई साझा सूत्रका रूपमा जोडेका छन्:
‘मदर टङ’: सन् १९५२ को बङ्गला भाषा आन्दोलन र पहिचानको सङ्घर्षमा आधारित, जसले भाषा र संस्कृति जोगाउने मानवीय चाहनालाई प्रस्तुत गर्छ।
‘ए फ्रिडम फाइटर फरेभर’: सन् १९७१ को बङ्गलादेशको मुक्ति सङ्ग्राम र स्वतन्त्रता सेनानी डा. नुरान नबीको सङ्घर्षमार्फत एउटा सिङ्गो पुस्ताको इतिहास उजागर गर्ने कथा।
‘विद्याभुवन’: बङ्गलादेशको ग्रामीण भेगको एक विद्यालयको कथा, जसले उज्ज्वल भविष्यका लागि शिक्षाको महत्त्व दर्शाउँछ।
नेपाल भाषा र नेवार समुदायको सांस्कृतिक समृद्धिको प्रशंसा गर्दै इकबालले नेपाल र बङ्गलादेशका ऐतिहासिक एवं सांस्कृतिक अनुभवमा भावनात्मक समानता रहेको उल्लेख गरे। सिनेमाले बङ्गलादेशी र नेवारी संस्कृति तथा दुवै देशका नागरिकबीच भावनात्मक पुलको काम गर्ने विश्वास उनले व्यक्त गरे।




















