एमालेमा विद्यादेवी भण्डारीको भूमिका स्पष्ट, अध्यक्षपछि दोस्रो वरीयता

नेकपा (एमाले) ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको औपचारिक भूमिका र जिम्मेवारी स्पष्ट गरेको छ। असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै जारी गरिएको अन्तरपार्टी निर्देशनमा भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयतामा राखिएको उल्लेख छ।

भण्डारीले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने तथा अध्यक्षलाई सहयोग गर्दै पार्टीलाई समयोचित निर्णय लिन योगदान पुर्‍याउने जिम्मेवारी पाएकी छन्। साथै, पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र प्रतिष्ठाको पक्षमा भूमिका निर्वाह गर्ने जिम्मेवारीसमेत तोकिएको छ।

एमालेका अनुसार भण्डारीको भूमिकासम्बन्धी निर्णय आगामी विधान महाधिवेशनबाट अनुमोदन गरिनेछ। पार्टीले विधानमा रहेको बाधा–अड्काउ फुकाउने व्यवस्था प्रयोग गरी उनको जिम्मेवारी तय गरिएको जनाएको छ।