सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रियामा पार्टीको ह्विप अवज्ञा गरेको भन्दै नेकपा एमालेका सांसद धर्मराज पाठकमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । एमालेले सामाजिक विकास समिति सभापतिसमेत रहेका पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
बजेटको पक्षमा मतदान गर्न जारी गरिएको ह्विप उल्लङ्घन गरेको भन्दै एमालेले पाठकसँग स्पष्टीकरण माग्नुका साथै उनलाई समिति सभापतिबाट हटाउने निर्णय गरेको हो । निर्णयसम्बन्धी पत्र सभामुख भीम भण्डारीसमक्ष पठाइएको छ ।
आइतबार प्रदेशसभामा प्रस्तुत बजेट मंगलबार पारित गर्ने कार्यसूची थियो । त्यसअघि एमाले संसदीय दलले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र तटस्थ नबस्न निर्देशन दिएको थियो ।
तर, पाठक बजेट पारित गर्ने प्रदेशसभा बैठकमा अनुपस्थित रहे । बजेट पारित भएपछि एमालेकै अर्का सांसद वीरबहादुर थापाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनलाई समेत पार्टीले स्पष्टीकरण सोधेको छ ।




















