नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत लिस्टियोवातीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन्।
समारोहमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत तथा ग्लोबल आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी थिए। राजदूत लिस्टियोवातीलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म परम्परागत बग्गीमा सवार गराएर लगिएको थियो। नेपालको मौलिक कला, संस्कृति, परम्परा र आतिथ्य सत्कार झल्काउने यस प्रकारको स्वागतले विदेशी कूटनीतिज्ञलाई नेपालको सांस्कृतिक पहिचानसँग नजिकबाट परिचित गराउने विश्वास गरिएको छ।
सोही विशेष समारोहमा गणतन्त्र घाना, गणतन्त्र सुडान, ब्रुनाई दारुस्सलाम तथा युरोपेली सङ्घका प्रतिनिधिहरूले पनि राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।




















