टोखा। बालबालिकाको सर्वाङ्गीण विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि तथा मौलिक भाषा, संस्कृति र परम्पराको पुस्तान्तरण गर्ने उद्देश्यसहित सिचु पाठशालाद्वारा आयोजित बडादसैँ, नेपाल संवत् ११४७, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
पाठशालाले परम्परागत घोकन्ते शिक्षण प्रणालीभन्दा माथि उठेर बालबालिकालाई व्यावहारिक, प्रयोगात्मक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको छ। विभिन्न चाडपर्व, ऋतु, रीतिरिवाज, सांस्कृतिक परम्परा तथा कृषि कर्मसँग बालबालिकालाई प्रत्यक्ष रूपमा जोडेर सिकाइलाई व्यवहारसँग एकाकार गर्ने पाठशालाको प्रयासलाई कार्यक्रमका वक्ताहरूले प्रशंसा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका नगर उपप्रमुख मुरारी तामाङले बालबालिकाभित्र अन्तर्निहित प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गराउन सिचु पाठशालाले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताए। शिक्षालाई केवल पाठ्यपुस्तक र घोकाइमा सीमित नराखी समय, परिस्थिति, चाडपर्व, कृषि कर्म तथा सामाजिक-सांस्कृतिक अभ्याससँग जोड्नु आवश्यक रहेको उल्लेख गर्दै उनले पाठशालाको शैक्षिक अवधारणाको प्रशंसा गरे। साथै, उनले बडादसैँ, नेपाल संवत् ११४७, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरे।
कार्यक्रमका विशेष अतिथि टोखा नगरपालिका वडा नं. ३ का अध्यक्ष रमेश डंगोलले परम्परागत शिक्षण पद्धतिभन्दा पृथक् सोच र सिर्जनात्मक अभ्यासका माध्यमबाट बालबालिकाको प्रतिभा निखार्न पाठशालाले गरिरहेको प्रयास महत्वपूर्ण रहेको बताए। उनले पाठशालाद्वारा सञ्चालित शिक्षक प्रशिक्षण कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै उक्त प्रशिक्षण प्राप्त गर्ने ९८ प्रतिशत सहभागी रोजगारीमा संलग्न रहेको तथ्य प्रस्तुत गरे। सीपमूलक तथा व्यावहारिक शिक्षाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै रोजगारीका अवसर सिर्जना गर्नसमेत योगदान पुर्याउने उनको भनाइ थियो। उनले पनि सम्पूर्णमा चाडपर्वको शुभकामना व्यक्त गरे।

कार्यपालिका सदस्य एवं वडा सदस्य सान्ता राईले नेपाली माटो, समाज र मौलिक पहिचानसँग मेल खाने शिक्षा प्रदान गर्ने पाठशालाको प्रयासले सकारात्मक परिवर्तनको आधार तयार गर्ने बताइन्। पाठशालाको निरन्तरता र प्रभावकारी सञ्चालनका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले आगामी दिनमा पनि अभिभावकहरूलाई पाठशालाका गतिविधिमा सक्रिय सहभागिता जनाउन तथा आवश्यक सहयोग र एक्यबद्धता कायम राख्न आग्रह गरिन्। उनले पाठशालाको उत्तरोत्तर प्रगतिको कामना गर्दै चाडपर्वको शुभकामना व्यक्त गरिन्।
पाठशालाकी संस्थापक एवं प्रधानाध्यापक सरिता महर्जनले २० जना बालबालिकाबाट सुरु गरिएको शैक्षिक अभियानलाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको महत्वपूर्ण योगदान रहेको बताइन्। उनले सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य, सद्भाव र सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रमकी सभापति सुमिता महर्जनले बालबालिकामा निहित प्रतिभाको पहिचान, प्रस्फुटन र निरन्तर परिष्कारका लागि पाठशाला सधैँ प्रतिबद्ध रहेको बताइन्। बालबालिकालाई आफ्नो मौलिक संस्कृति, सामाजिक परिवेश र जीवनोपयोगी ज्ञानसँग जोड्दै आत्मविश्वासी, सिर्जनशील तथा जिम्मेवार नागरिकका रूपमा विकास गर्नु पाठशालाको प्रमुख उद्देश्य रहेको उनको भनाइ थियो।
सिचु पाठशालाले शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहार, संस्कृति, परम्परा र जीवनसँग जोड्ने अभ्यासमार्फत बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्याउँदै आएको छ। यस्ता कार्यक्रमले नयाँ पुस्तामा सांस्कृतिक चेतना, सामाजिक सद्भाव, सिर्जनशीलता तथा मौलिक पहिचानप्रतिको सम्मान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।




















