बाढीपहिरो देखाउँदै प्रमुख दलहरूले यो पटक दसैँ–तिहारमा चियापान नगर्ने

 

 

काठमाडौं । बाढीपहिरोलगायतका कारण प्रमुख राजनीतिक दलहरूले यो वर्ष विगतमा जस्तो दसैँ, तिहार र छठ पर्वका अवसरमा औपचारिक रूपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम नगर्ने भएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), दोस्रो दल नेपाली कांग्रेस, तेस्रो दल नेकपा एमाले र चौथो दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलले यो पटक दसैँ–तिहार र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदानका लागि केन्द्रमा औपचारिक कार्यक्रम नराखेको जनाएका हुन् ।

नेपाली कांग्रेसले पनि यस वर्ष चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय नभएको जनाएको छ ।

‘हामी यसपटक दसैँसम्म नै महाधिवेशनमा लाग्यौँ’, कांग्रेसका पूर्वप्रवक्ता देवराज चालिसेले भने, ‘अहिलेसम्म तय भएको छैन । पछि के हुन्छ भन्न सकिँदैन ।’

यस वर्ष गत भदौ १० गते चीनको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीबाट झन्डै १ हजार ४२७ जनाको निधन भएको छ भने चार हजारभन्दा बढी अझै बेपत्ता छन् । बाढीपहिरोबाट हजारौँ नागरिक घरबारविहीन बनेका छन् । बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीलगायतका जिल्ला प्रभावित बनेका थिए ।

राजनीतिक दलहरूले कतिपय जिल्लाका नागरिक बाढीपहिरोलगायतका विपद्को मारमा परेका कारण पनि सामूहिक रूपमा चाडपर्व मनाउने विषयमा चासो नदेखाएको बताएका छन् ।

अर्को दल नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पनि पार्टीले यो वर्ष चियापान र शुभकामना कार्यक्रम आयोजना गर्ने नगर्नेबारे कुनै निर्णय नभएको बताए ।

एमालेले झन्डै तीन दशकअघि मनमोहन अधिकारी अध्यक्ष भएको समयदेखि दसैँ, तिहार र छठ पर्वको अवसरमा दसैँको पूर्णिमाका दिन पार्टी कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको थियो ।

‘यसपटक अहिलेसम्म कुनै निर्णय भइसकेको छैन । अर्कोतिर देशले बाढीपहिरोको मार खेपिरहेको पनि छ र पार्टी अध्यक्ष आफैँ पनि बुबाको निधन भएकाले वार्षिकी बार्नुभएकाले हुन सक्छ’, आचार्यले भने, ‘यस्तै विविध कारणले सम्भवतः यो वर्ष पनि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नहुन सक्छ ।’

एमालेले २०८१ र २०८२ सालमा पनि दसैँ–तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम राखेको थिएन ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता प्रकाश ज्वालाले यो वर्ष भोटेकोशी, बूढीगण्डकीलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण केन्द्रमा दसैँ–तिहारमा शुभकामना आदानप्रदान नगर्ने निर्णय भएको बताए ।

‘यो वर्ष भोटेकोशी, बूढीगण्डकीलगायतमा आएको विनाशकारी बाढीका कारण पार्टीले केन्द्रमा दसैँ–तिहारमा शुभकामना आदानप्रदान नगर्ने निर्णय गरेको छ’, ज्वालाले भने, ‘परिस्थितिजन्य कारणले नगरिएको हो ।’