कांग्रेसको रूपान्तरणमा युवाले सिर्जनात्मक भूमिका खेल्नुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको सङ्गठन सुदृढीकरण र रूपान्तरणका लागि युवाहरूले सक्रिय तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा तनहुँको दमौलीमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासमा तरुण युवाको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । तरुण दललाई कांग्रेसको मेरुदण्डको संज्ञा दिँदै पौडेलले युवाहरू सङ्गठन विस्तारमा मात्र सीमित नभई नयाँ सोच, विचार र कार्यक्रममार्फत पार्टीलाई जनतासँग जोडिनुपर्नेमा जोड दिएका छन् ।

उनले पार्टीभित्र भएका सुधार र सकारात्मक परिवर्तन जनतासमक्ष पुर्‍याउन सके कांग्रेसप्रतिको विश्वास थप बलियो हुने धारणा राखेका छन् । कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य चिनु पोख्रेलसहित अन्य नेताहरूले पार्टी एकता, तरुण दलको भूमिका र सङ्गठन सुदृढीकरणबारे धारणा राखेका थिए।