देशका विभिन्न स्थानमा भारी वर्षा, हिमपात र हावाहुरीको सम्भावना बढेसँगै सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखेको छ।सम्भावित बाढी, पहिरो तथा डुबानबाट उत्पन्न हुन सक्ने स्वास्थ्य संकटलाई ध्यानमा राख्दै सातै प्रदेशलाई पूर्वतयारीमा जुट्न निर्देशन दिइएको हो। जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न भागमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेको छ। सोही पूर्वानुमानलाई आधार मान्दै स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले प्रदेशस्तरका स्वास्थ्य निकायलाई सतर्क रहन आग्रह गरेको हो। इकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै विपद्को अवस्थामा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने गरी जनशक्ति, औषधि, उपकरण र एम्बुलेन्स तयारी अवस्थामा राख्न भनेको छ। इकाइका प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्क गर्न सकिने एक जना आपतकालीन सम्पर्क व्यक्ति तोक्न निर्देशन दिइएको छ। ती व्यक्तिको सम्पर्क विवरण सम्बन्धित इकाइमा उपलब्ध गराउनुका साथै सार्वजनिक गर्नसमेत भनिएको छ।
त्यस्तै, सम्भावित विपद्का कारण घाइते तथा प्रभावित हुने नागरिकको तत्काल उपचारका लागि हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी) र आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। विपद्को समयमा उपचार सेवा प्रभावित हुन नदिन स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध औषधि, स्वास्थ्य सामग्री, उपकरण, जनशक्ति तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्नसमेत निर्देशन दिइएको छ।
यसैगरी, उद्धार तथा उपचारलाई प्रभावकारी बनाउन प्रदेशका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर सम्पर्कमा रही आवश्यकताअनुसार एम्बुलेन्स तत्काल परिचालन गर्न सक्ने व्यवस्था मिलाउन भनिएको छ। सम्भावित विपद्को अवस्थाबारे नियमित जानकारी संकलन गर्न सबै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई दैनिक प्रतिवेदन पठाउन पनि निर्देशन दिइएको छ। कुनै घटना नभएको अवस्थामा ‘जिरो रिपोर्टिङ’ र घटना भएको अवस्थामा ‘इन्सिडेन्ट रिपोर्टिङ’ मार्फत विवरण उपलब्ध गराउनुपर्नेछ। मौसम प्रतिकूल हुँदा बाढी, पहिरो र डुबानका कारण स्वास्थ्य सेवामा अवरोध आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले पूर्वतयारीलाई प्राथमिकता दिएको हो।


















