सरकारी सेवामा कार्यरत रहँदै राजनीतिक दलमा जिम्मेवारी लिएको आरोपमा तीन जना कर्मचारीमाथि कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिफारिस गरेको छ।
पार्टीमा प्राप्त उजुरीका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई कानुनी कारबाहीका लागि सिफारिस गरिएको हो। रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीले सार्वजनिक संस्थामा जागिर खाँदै राजनीतिक दलमा जिम्मेवारी सम्हालेको विषयमा उजुरी प्राप्त भएपछि सम्बन्धित निकायमा पठाइएको जानकारी दिएका छन्। उनका अनुसार कारबाहीका लागि सिफारिस गरिएका तीनै जना कर्मचारी काठमाडौंका हुन्। यद्यपि, उनीहरूको नाम र कार्यरत संस्थाको विवरण सार्वजनिक गरिएको छैन। बुर्लाकोटीले सरकारी कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिन नहुने पार्टीको स्पष्ट नीति रहेको बताएका छन्।
यसअघि पनि रास्वपामा यस्तै प्रकृतिका उजुरी परेका थिए। एक वाणिज्य बैंकका कर्मचारीले पार्टीमा जिम्मेवारी लिएको उजुरीपछि रास्वपाले उनलाई जागिर वा राजनीति रोज्न सुझाव दिएको थियो। ती कर्मचारीले जागिर छाडेर राजनीतिलाई निरन्तरता दिएको बुर्लाकोटीले बताएका छन्।


















