बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ। प्रदेश सरकारले कात्तिक १३ र १४ गते जोखिम बढी हुन सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई आधार बनाएर सार्वजनिक सूचना जारी गरेको हो। मन्त्रालयका अनुसार लुम्बिनीसहित रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही क्षेत्रमा भारी वर्षा हुन सक्नेछ। वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायात प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयले किसानलाई कात्तिक १२ गतेअघि नै धान काट्ने र भित्र्याउने काम सक्न आग्रह गरेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक अन्य यात्राबाट टाढा रहन अनुरोध गरिएको छ। नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचनामा ध्यान दिन र सुरक्षित स्थानमा रहन पनि आग्रह गरिएको छ। सम्भावित विपद्बाट जनधनको क्षति हुन नदिन जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा सार्न स्थानीय तह, जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशनात्मक आग्रह गरेको छ।


















