काठमाडौं। नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षको औपचारिक नियुक्ति नभएका डा. हेमराज अवस्थीलाई कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नै अध्यक्षको पद तथा गोपनीयताको शपथ खुवाएको खुलेको छ। यस घटनाले परिषद्को नेतृत्व चयन प्रक्रिया र शपथको कानुनी आधारमाथि प्रश्न उठाएको छ।
डा. अवस्थी राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख हुन्। मन्त्रालयको कर्मचारी प्रशासन शाखाले २०८३ जेठ १७ गते गरेको निर्णयअनुसार उनलाई अर्को व्यवस्था नभएसम्म नेपाल पशु चिकित्सा परिषद्को अध्यक्षको कामकाज गर्ने जिम्मेवारी दिइएको थियो।
तर, मन्त्रालयको निर्णयमा अध्यक्ष नियुक्त गरिएको नभई कामकाज गर्ने जिम्मेवारी मात्र दिइएको उल्लेख छ। यस्तो अवस्थामा मन्त्रीबाट अध्यक्षकै पद तथा गोपनीयताको शपथ गराइएको विषयले नियुक्ति प्रक्रियाको वैधानिकताबारे प्रश्न उठाएको हो। उनले सचिवको उपस्थितिमा मन्त्रीले अध्यक्षको शपथ खुवाएको बताएका छन्। परिषद्को आधिकारिक वेबसाइटमा समेत ‘अध्यक्ष डा. हेमराज अवस्थीज्यूको पद तथा गोपनीयताको शपथ ग्रहण’ शीर्षकमा कार्यक्रमको तस्बिर सार्वजनिक गरिएको छ। तस्बिरमा मन्त्री चौधरीले अवस्थीलाई माला र खादा लगाइदिएको देखिन्छ। परिषद्को वेबसाइटमा उनलाई अध्यक्षका रूपमा प्रस्तुत गरिएको छ।
यस विषयमा मन्त्रालयका सहप्रवक्ता डा. लालकुमार श्रेष्ठले भने डा. अवस्थीलाई अर्को व्यवस्था नभएसम्म कामकाज गर्ने जिम्मेवारी मात्र दिइएको बताएका थिए। शपथको कानुनी आधारबारे प्रश्न गर्दा उनले कामकाज गर्न मात्र तोकिएको अवस्थामा शपथ गराइएको नहुनुपर्ने आशय व्यक्त गर्दै यसबारे थप जानकारी लिने बताएका थिए।
यसैबीच, प्रकरणको छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिएको जानकारी प्राप्त भएको छ। परिषद्को रजिष्ट्रारको जिम्मेवारीमा रहेकी डा. चन्दा श्रेष्ठको नियुक्ति र अधिकारको हैसियतबारे पनि प्रश्न उठिरहेको छ। परिषद्का पदाधिकारीको नियुक्ति प्रक्रिया र अधिकारको सीमा स्पष्ट हुनुपर्ने सरोकारवालाको भनाइ छ।
नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्ष तथा परिषद्का पूर्वपदेन सदस्य डा. शीतलकाजी श्रेष्ठले नियमित नियुक्ति प्रक्रिया अघि नबढाई लामो समयसम्म कामचलाउ व्यवस्थामार्फत संस्था सञ्चालन गर्नु उचित नहुने बताएका छन्। उनका अनुसार यस्तो अभ्यासले संस्थाको स्वायत्तता र प्रशासनिक जवाफदेहितामाथि प्रश्न उठाउन सक्छ।



















