अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाब र अमेरिकासँग बढ्दो तनावका बीच युक्रेनले रुसका तेल प्रशोधन केन्द्रमाथि गर्दै आएको ड्रोन आक्रमण तत्कालका लागि रोकेको छ। द वाल स्ट्रिट जर्नलका अनुसार गत सातादेखि युक्रेनले रुसी तेल प्रशोधन केन्द्रलाई लक्षित आक्रमण रोकेको हो। यो अनौपचारिक रोक नोभेम्बरसम्म कायम रहन सक्ने युक्रेनी सैन्य अधिकारीहरूको भनाइ छ।
अमेरिकी प्रशासनले इन्धनको मूल्यवृद्धिको कारण देखाउँदै युक्रेनलाई आक्रमण रोक्न दबाब दिएको थियो। अमेरिकी विशेष दूत जारेड कुशनरले समेत युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ३० दिनका लागि आक्रमण रोक्न आग्रह गरेका थिए।
युक्रेनले भने रुसले पनि एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने सहमति गर्नुपर्ने माग राख्दै आएको थियो। जेलेन्स्कीले आक्रमण रोक्ने विषयमा सहमति जनाए पनि आवश्यक परे पुनः कारबाही गर्न सेनालाई स्वतन्त्रता रहेको बताएका छन्।
अक्टोबर २० मा रुसको ताम्बोभ क्षेत्रमा रहेको ड्रुजबा तेल पाइपलाइनको पम्पिङ स्टेसनमा आक्रमण भएयता रुसी तेल पूर्वाधारमा अर्को आक्रमण भएको छैन।


















