डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिमबाट पक्राउ

डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका कामीलाई १८ वर्ष कैद सजाय तोकिएकोमा १३ वर्ष बाँकी थियो ।

त्यस्तै, रानालाई १२ वर्ष कैद सजाय तोकिएकोमा ९ वर्ष कैद भुक्तान गर्न बाँकी थियो ।पक्राउ परेका दुवै जनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याइँदै छ । कारागारबाट फरार भएका अन्य कैदी तथा थुनुवाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।