पत्रकार धरपकडबारे सोधिएको प्रश्नमा सरकारका प्रवक्ताले भने :प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारहरूमाथि हालै गरिएको धरपकडबारे जवाफ दिँदै त्यो प्रहरीको आन्तरिक विषय भएको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता पोखरेलले संवेदनशील सूचनाको विषय भएकाले प्रहरीले सामान्य सोधपुछ गरेको बताए ।

‘यदि त्यहाँ गैरकानुनी काम केही भएको छ, त्यसमा गृह मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने त्यस्तो केही छ भने त्यो भइहाल्छ । तर अहिलेसम्म हाम्रो बुझाइअनुसार प्रहरीले संवेदनशील सूचनाहरू हुँदै नभएको भ्रामक कुरा आएको हुनाले सामान्य कसरी भयो, के भयो भनेर सोधपुछ मात्र भएको हो’, पोखरेलले भने ।

प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो भन्ने भ्रामक सूचना कहाँबाट आयो भन्ने विषयमा प्रहरीले सोधपुछ मात्रै गरेको उनले प्रस्टीकरण दिए ।’सरकारसँग पूर्ण अनुमति लिएर गरेको होइन । त्यसमा सरकारलाई, प्रधानमन्त्रीलाई त्यसको केही पनि जानकारी थिएन । त्यसमा गृह मन्त्रालयले आवश्यक परे थप काम कारबाही गर्छ’, उनले भने ।