नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एकताको प्रस्ताव गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा प्रचण्डले पूर्वाग्रह त्यागेर एकतामा आउन ओलीलाई आह्वान गरेका हुन् ।
उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखी एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए । उनले विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्न पनि आग्रह गरे । मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एकपटक एकताआद्ध हुन जरुरी रहेको प्रचण्डले बताए ।
माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता कार्यकर्ताहरूलाई जोड्ने जिम्मेवारीसमेत आफूहरूकै काँधमा रहेको प्रचण्डले बताए । प्रचण्डले देश असाधारण संकटमा रहेकोले मिल्नुको विकल्प नरहेको बताए ।


















