सेयर बजारमा कारोबार बढ्यो, दुई पुनर्बीमामा आकर्षण

अघिल्लो दिन ६.६२ अंक बढेको सेयर बजार बुधबार जम्मा १.४० अंक बढेको छ । यो सामान्य वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ ।कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४३ करोडको भयो । आज ९८ कम्पनीको मूल्य बढ्यो भने १७१ को घट्यो । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो । यो समूहमा सूचीकृत दुई पुनर्बीमा कम्पनी नेपाल र हिमालयनको मूल्य उच्च दरले बढ्दा समूहमा प्रभाव देखिएको हो । सरकारी स्वामित्व धेरै रहेको नेपाल पुनर्बीमाले हकप्रद सेयर जारी गर्नेगरी मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै यो कम्पनीको मूल्य आज सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । सँगै अर्को हिमालयन रिले पनि हकप्रद जारी गरेर पूँजी बढाउने निश्चित भएपछि यो कम्पनीको मूल्य ११.४८ प्रतिशत बढ्यो ।

त्यस्तै अन्य समूहका अलवा व्यापार १.११, जीवन बीमा ०.१० प्रतिशत बढे । बैंकिङ ०.८२, विकास बैंक ०.४४, फाइनान्स ०.८२, होटल तथा पर्यटन ०.७४, जलविद्युत् ०.६८, लगानी ०.४५, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२० तथा निर्जीवन बीमा ०.१३ प्रतिशत घटे । दुई पुनर्बीमाका अलवा स्वेत गंगा हाइड्रोको ८.६५, घोराही सिमेन्टको ५, नेपाल रिपब्लिक मिडियाको ४.९७, मन्दाकिनी हाइड्रोको ४.४२ प्रतिशत मूल्य बढ्यो ।

शिखर पावरको मूल्य ३.७४, सीवाईसी लघुवित्तको ३.३४, चिरख्वा हाइड्रोपावरको ३.२६, जनउत्थान सामुदायिक लघुवित्तको ३.२० प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा स्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक क्रमशः अगाडि रहे ।