डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय समिति गठन

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले वार्ता समिति गठन गरेको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको हो।२५औँ पटक आमरण अनशनमा बसेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको थियो। हाल उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।

केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवासम्बन्धी ६ बुँदे माग अघि सारेका छन्। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पर्याप्त पूर्वाधार र जनशक्तिबिना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने, पदाधिकारी नियुक्तिमा भएको स्वार्थको द्वन्द्व छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र विगतका सहमति कार्यान्वयन गर्नुपर्ने उनका प्रमुख माग छन्।