इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचर निकायले आशङ्का गरेको छ।

सीएनएनका अनुसार गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी देखिएको छैन । तर आक्रमण गर्ने निर्णय भएमा प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको छ । यद्यपि, यस्तो योजना कार्यान्वयन गर्न आवश्यक जनशक्ति इरानसँग छ वा छैन भन्ने विषयमा अमेरिकी अधिकारीहरूबीच प्रश्न उठेको छ। अमेरिकाभित्रै बम बनाउन प्रयोग हुने आणविक वा रासायनिक पदार्थ लुकाइएको हुन सक्ने इरानी दाबीसम्बन्धी सूचना पनि गुप्तचरले प्राप्त गरेको स्रोतले जनाएको छ ।

यस्तो पदार्थ परम्परागत विस्फोटकसँग मिसाएर ‘डर्टी बम’ बनाउन सकिने बताइएको छ । यसले ठूलो भय फैलाउनुका साथै मानिसलाई बिरामी पार्न र प्रभावित क्षेत्रलाई बसोबासका लागि अनुपयुक्त बनाउन सक्छ।