प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको भेट

काठमाडौँ, २ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत नियुक्त हुनुभएकोमा बधाई दिँदैै सफल कार्यकालका लागि राजदूत दलेलालाई शुभकामना दिनुभयो । उहाँले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । भेटमा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिनुभएको थियो । राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेण्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जानकारी दिइएको छ ।