पोखरा । प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले आज पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा रहेको श्री राधाकृष्ण मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्। सभामुख डिपी अर्यालले आज पूजाअर्चना गरेको ज्योतिषी भवेश भट्टराईले जानाकारी दिनु भयो । यस अघि हिजो अभिनेता पल शाह नयाँ चलचित्र ‘यानीमाया’को दोस्रो चरणको छायांकनका लागि ढोरपाटन प्रस्थान गर्नुअघि पोखरा पुगेर माता बिन्ध्यवासिनी भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन्। यसै पोखराका चर्चित युवा ज्योतिषी भवेश भट्टराईको निमन्त्रणामा पोखरा पुगेका पल शाहले बिन्ध्यवासिनी भगवतीको दर्शन, पूजा–अनुष्ठान तथा गुरुवरहरूबाट आशीर्वाद ग्रहण गरेका हुन्। नयाँ चलचित्रको दोस्रो चरणको छायांकन तथा शुभकार्य सफल होस् भन्ने कामनासहित धार्मिक विधिअनुसार पूजा गरिएको बताइएको छ।
पल शाह र ज्योतिषी भवेश भट्टराईबीच लामो समयदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ। पलले चलचित्र यात्रा, व्यक्तिगत जीवनका महत्त्वपूर्ण निर्णय तथा धार्मिक र ज्योतिषीय विषयमा भवेशसँग परामर्श लिँदै आएको बताइन्छ। काठमाडौं र पोखराबीचको व्यस्तताका बाबजुद उनीहरूबीच भेटघाट तथा संवाद निरन्तर हुँदै आएको छ।
जन्मदिनलगायत विशेष अवसरमा समेत पल पोखरा पुग्ने र शुभेच्छा तथा आशीर्वाद आदानप्रदान गर्ने गरेको बताइएको छ। यसपटक पनि नयाँ चलचित्रको छायांकनअघि भवेशको ज्योतिषीय सल्लाह तथा धार्मिक मार्गदर्शनअनुसार पूजा–अनुष्ठान गरिएको हो।
नयाँ चलचित्र ‘यानीमाया’को दोस्रो चरणको छायांकनका लागि पल शाहसहित निर्माण टोली ढोरपाटनतर्फ प्रस्थान गरेको छ। चलचित्रको छायांकन सफल होस् र दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त होस् भन्ने कामना गर्दै भवेश भट्टराईले सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गरेका छन्।
नयाँ कार्यको सुरुवातअघि देवीदेवताको दर्शन तथा गुरुजनबाट आशीर्वाद लिने नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार पलले चलचित्रको आगामी काम सुरु गर्नुअघि बिन्ध्यवासिनी भगवतीको दर्शन तथा पूजा गरेका हुन्।


















