कर्णाली र सुदूरपश्चिमको यात्रामा निस्किँदै सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आजदेखि कर्णाली र सुदूरपश्चिमको भ्रमणमा निस्किँदैछन् । पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सभापति लामिछाने आज कर्णालीको राजधानी सुर्खेत प्रस्थान गर्न लागेको रास्वपाले जनाएको छ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागले मंसिर १२ देखि पुस २ गतेसम्म ६ प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्दैछ ।

६ वटै प्रदेशमा सभापति लामिछाने पुग्नेछन् । निर्धारित कार्यतालिकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १२ र १३ गते प्रशिक्षण हुँदैछ । यसैगरी सुदूरपश्चिमको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण तय गरिएको छ । सुर्खेतबाट सभापति लामिछाने धनगढी जानेछन् ।

कोशी प्रदेशको धरानमा मंसिर १७ र १८ गते प्रशिक्षण कार्यक्रम हुनेछ।त्यस्तै, बागमती प्रदेशको काठमाडौंमा मंसिर २० र २१ गते, लुम्बिनी प्रदेशको भालुवाङमा मंसिर २३ र २४ गते तथा गण्डकी प्रदेशको पोखरामा पुस १ र २ गते कार्यक्रम आयोजना गरिनेछ।