सुर्खेतबाट देउवाले भने– कांग्रेसको सभापति मै हुँ, अदालतले न्याय दिन्छ

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अदालतले न्याय दिनेमा विश्वस्त रहेकाे बताएका छन् । उनले अझै पनि आफू नै पार्टीको सभापति रहेको जिकिर गर्दै अदालतबाट आफ्नो पक्षमा फैसला आउने दाबी गरे । आफूले राजीनामा दिनुपर्ने वा विधानअनुसार अविश्वासको प्रस्तावबाट दुईतिहाइ बहुमतले हटाउनुपर्नेमा त्यसाे नभएको देउवाकाे दाबी छ । देउवापक्षले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै देउवाले पार्टीको सभापति आफू नै रहेको र आगामी महाधिवेशनबाट निष्पक्ष निर्वाचनमार्फत नयाँ सभापति चयन हुने बताए ।

उनले भने, ‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ, अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ । चुनावबाट जित्ने सभापति हुन्छ ।’ आफूलाई अदालतप्रति राजतन्त्रकालदेखि नै विश्वास रहेको उल्लेख गर्दै उनले आफ्नो पक्षमा फैसला आउनेमा पूर्ण विश्वस्त रहेको बताए । पाँचपटक प्रधानमन्त्री भइसकेको र अब आफूले पाउनुपर्ने सबै पाइसकेकाले नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने पनि बताए ।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर सुरु भएको विवादले पार्टीको नेतृत्व र आधिकारिकतासम्बन्धी संकट निम्त्याएको छ । एउटै पार्टीभित्र दुई पक्षका छुट्टाछुट्टै महाधिवेशन र नेतृत्वको दाबीले कांग्रेसको आन्तरिक विवाद थप पेचिलो बनेको छ । गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा भएको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएपछि उनकै नेतृत्वमा १५औँ नियमित महाधिवेशन सम्पन्न भइसकेको छ ।

तर, विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको देउवा पक्षले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ । सोही प्रक्रियाअन्तर्गत प्रदेश अधिवेशन गरिरहेको देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।