नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् । एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको छ । मन्त्री शर्माले भनिन्, ‘जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र तत्काल कार्यान्वयन गरेर जानको निम्ति नयाँ लिडरसिपलाई सहज हुन्छ भनेर सरुवा गरिएको हो ।’
सुन तस्करीसम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो । ज्ञवाली भने प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए ।
















